काठमाडौं। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताउनु भएको छ ।  

महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो ।

पार्टी सभापति, केन्द्रिय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुन सक्ने प्रमुख सचेतक लेखकको भनाई थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले महामन्त्री थापाप्रति संकेत गर्दै सभापति हटाउने विषय एउटा व्यक्तिले भनेर नहुने बताउनु भयो ।

काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यहाँभित्र नेतृत्वप्रति विरोध, समर्थन, आलोचना हुन सक्ने भन्दै प्रमुख सचेतक लेखकले पार्टी सभापति र केन्द्रिय कार्य समितिको नेतृत्व पार्टीका १० लाख क्रियाशील सदस्यहरुको भावनाको प्रतिनिधित्वको आधारमा हुने स्मरण गराउनु भयो ।

प्रमुख सचेतक लेखकले अरु पार्टीहरुको भन्दा युवा पुस्ता नेतृत्वमा पु¥याउने काम नेपाली काँग्रेसले गरेको दावी समेत गर्नु भयो ।