काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् ।
नेकपा(एकीकृत समाजवादी)का सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् ।
बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताउनु भयो ।
उहाँले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताउनु भयो । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।







