ललितपुर । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् । 

बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हुन । यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताउनु भयो । उहाँले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताउनु भयो । 

पीडित किसानहरुले पशु आफूहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका छन । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरुको पुर्नस्थापना र उनीहरुका लागि विमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताउनु भयो । उहाँले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । 

राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर,  लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्,  पशुहरुमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस् , महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिईयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।