जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् ।
आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् ।
नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा. राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन ।
उनले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुवै गर्न सुझाव दिए ।







