काठमाडौंं । नेपाल प्रहरीले विभिन्न स्थानबाट जफत भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेकाे छ ।

जसमा भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन गरिने बताइएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।