जनकपुरधाम । एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज साेमबार दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।

यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले अकास्मिक सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिएको थियो ।

आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।