विराटनगर । प्रहरीको हतियार र गोली लुटपाटमा संलग्न रहेको आरोपमा सातजना पक्राउ परेका छन् ।
हतियार र गोली लुटपाट गर्नेहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनिहरूले रातकाे समयमा बाटो ढुकी योजनावद्ध रुपमा कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार देखाई पिडितलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिई लुटपाट गर्ने गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–१ का ३० वर्षीय मोहमद, दुहवी–४ का ३२ वर्षीय नसुदिन मिया, अलिम मुर्तुजा, १४ वर्षीय बालक, दुहवी–६ बस्ने ४० वर्षीय मोहमद आलम, मोरङको बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम र बुढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया छन् ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, एक लाख ७५ हजार नगद, ११ हजार ६०० भारु, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजु र सिक्रीसमेत बरामद गरेको छ ।







