काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताउनुभएको हो । शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताउनु भयो ।
उहाँले ऐन कानून बिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताउनु भयो । राईले संसद्ले छलफल नै गर्न नपाई संसद्मा दर्ता मात्रै भएको आधारमा केहि सरोकारवाला निकायहरुले आपत्ती जनाएको बताउनु भयो । उहाँले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसदमा प्रवेश गरेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले समतामुलक समाज निर्माणमा शिक्षाले अहम भुमिका निर्वाह गरेको बताउनु भयो । उहाँले संविधान कार्यान्वयनका लागि शिक्षा विधेयक अपरिहार्य रहेको बताउनु भयो । संविधानले दिएको अधिकार उपभोग गर्न नयाँ शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने बताउनु भयो । उहाँले विधेयकमा धेरै नै परीमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि संसदीय समितिमा संशोधन हालेर परिमार्जन गरेर अगाडी बढाउन सकिने बताउनु भयो । मानव विकास सूचकाङ्कमा पछाडी परेका समुदायको शिक्षाको स्तर बढाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले संविधान कार्यान्वयनका लागि संघीय शिक्षा विधेयक संसदबाट परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भयो ।







