काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।