काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गर्नु भएकाे छ ।
शुक्रबार सामाजीक संजालमार्फत नेता सिंहले नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास भइरहेकाे आशंका व्यक्त गर्नु भएकाे छ ।
“नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् ।” उहाँले उल्लेख गर्नु भएकाे छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउनु पर्ने उहाँकाे भनाइ छ । प्रकरणलाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न र यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नु पर्ने नेता सिंहले बताउनु भएकाे छ ।
