काठमाडौं । आज सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।

आज राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ । बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आइतबारको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भएको छ ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आउनुभएको थियो । आइतबारको बैठकमा शीर्ष नेताहरुको उपस्थिति थियो । बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र आज सार्वजनिक गरिने बताइएको छ ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ । यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ ।