महोत्तरीमा । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।

उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिनुभयो । कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ ।

उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताउनु भयो । श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताउनु भयो ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।