काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउनेगरी बोल्न नमिल्ने बताउनु भयो ।

त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताउनु भयो । उहाँले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताउनु भयो । महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराउनु भयो । 

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुनः पछि हटेको बताउनु भयो । उहाँले एमालले परिपक्व राजनीति नगरेको बताउनु भयो ।