काठमाडौँ । देशभरका ७४ कारागारमा रहेका २७ हजार कैदीबन्दीको स्वास्थ्य हेरचाहको लागि ३५ स्वास्थ्यकर्मी रहेका छन् । 

देशभरिका कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य हेरचाह केन्द्रिय कारागार अस्पतालले गर्ने गरेको छ । सामान्य स्वास्थ्य उपचार स्थानीय स्वास्थ्य संस्था, जिल्ला तथा प्रादेशिक अस्पतालमा भएपनि स्वास्थ्य हेरचाहको नेतृत्वदायी भुमिका केन्द्रिय कारागार अस्पतालले गर्दछ । अहिले देशभरका कारागारमा २७ हजार कैदीबन्दी छन् । ३० शैय्याको केन्द्रिय कारागार अस्पतालमा ६८ जना दरबन्दी रहेको छ ।

जसअन्तर्गत ८ जना विशेषज्ञ, ९ जना मेडिकल अधिकृत गरी १७ जना चिकित्सक कार्यरत छन् । यस्तै, नर्सिङतर्फ १३ जना, पारामेडिक्स ५ जना र अन्य प्रशासन तर्फका कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिले महिला तथा प्रसुती सेवा, जनरल ओपीडी, ड्रेसीङ एण्ड इन्जेक्सन सेवा, टीबी, एचआइभीको सम्पूर्ण सेवा, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे सेवा सञ्चालनमा छ । विशेषज्ञ सेवा अन्तर्गत मानसिक रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग सेवा लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । केन्द्रिय कारागार अस्पतालका निर्देशक डा.प्रकाश बुढाथोकीले ३० शैय्याको स्वीकृत पाएपनि अस्पतालमा अहिले ४० शैय्या सञ्चालनमा रहेको बताउनु भयो । उहाँले भौतिकपूर्वाधार कम भएकोले भौतिक पूर्वाधार बढाएर कम्तिमा एक सय शैय्याको विशेषज्ञ अस्पताल बनाउने  योजना रहेको बताउनु भयो । 

कारागारमा रहेका कैदीबन्दीमा मानसिक समस्या बढी देखिएको पनि डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । केन्द्रिय कारागारका कैदीबन्दीहरुमध्ये एक हजार ७२३ जनामा दीर्घरोग सम्बन्धी समस्या छ । उनीहरुमा रक्तचाप, मधुमेह,मिर्गौला रोग लगायतका समस्या देखिएको छ । डा.बुढाथोकीले दीर्घरोगीहरुको नियमित फलोअप उपचार गरिरहेको बताउनु भयो । मानसिक समस्या भएका कैदीबन्दी बढ्न थालेपछि छुट्टै वार्ड र विशेषज्ञ सेवा पनि शुरु गरिएको बताउनु भयो । 

डा. बुढाथोकीले केन्द्रिय कारागारका कैदीबन्दीहरुलाई पौष्टिक खाना र पर्याप्त औषधि उपचार गर्न सधैँ बजेट अभाव हुने गरेको बताउनु भयो । बजेटसँगै सेवा प्रवाहको लागि समन्वयको अभाव रहेको पनि डा. बुढाथोकीले बताउनु भयो ।