काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।
नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो ।
महासंघले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु नविकरण नभएसम्म क्रसर उद्योगहरु बन्द गरिरहेको छ ।
महासंघका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नविकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो।
उहाँले तत्कालीन कानून अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गर्नु सरकारको दायित्व रहेको बताउनु भयो। उहाँले सरकारको विभागिय मन्त्रालयहरु गृह,भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा क्रसर उद्योग दर्ता नविकरणको लागि जाँदा एउटा मात्रै निकायले गर्न नसक्ने जवाफ दिएको भन्दै जिम्मेवार निकायहरुको जवाफले निजी क्षेत्रको अविभावक नभएको अनुभव भएको गुनासो गर्नुभयो।
उहाँले प्रधानमन्त्रीले राष्ट्रिय क्रसर उद्योग दर्ता नविकरण नहुनु राष्ट्रिय समस्या भएको भनिसकेकाले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारले समस्या समाधान गरेर जाने भए कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरेर उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो।
उहाँले निर्माण व्यवसायीहरुलाई क्रसर बन्द छ भनेर क्रसर उद्योगको समस्या देखाउने काम गरेको बताउनु भयो। उहाँले मन्त्रिपरिषद्ले गरेको निर्णय आजसम्म कार्यान्वयन नहुँदा क्रसर उद्योगमा ठूलो समस्या आएको बताउनु भयो।







