प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध कायमै राखेको छ ।

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उहाँले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने विषय प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराउनुभयो ।

सभामुख सापकोटाको आग्रहपछि पनि एमालेले अवरोध कायमै रहेको अवस्थमा सदनको काम कारवाही अघि बढेको छ । एमालेले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।