गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौँ महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ ।


कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विभिन्न पाँच वटा क्षेत्रमा ती नेताहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेश स्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरुलाई नेताहरुको नामावलीसहितको सूचीसहित पत्राचार गर्नु भएको छ ।

जनसम्पर्क समितिहरुलाई पठाइएको पत्र अनुसार युरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै, एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई कांग्रेसको जनसम्पर्क समिति विभाग प्रमुख पनि हुनुहुन्छ । एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ ।