कर्णाली, २१ माघ (रासस) : खुला संसद् सप्ताहअन्तर्गत ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण मावि सुर्खेत प्रथम भएको छ । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसका अवसरमा खुला संसद् सप्ताहअन्तर्गत बिहीबार आयोजित ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तृत्वकला प्रतियोगिता श्रीकृष्ण संस्कृत तथा साधारण मावि वीरेन्द्रनगरमा अध्ययनरत छात्र विनय उपाध्याय प्रथम हुनुभएको छ ।

उहाँले १०० पूर्णाङ्कमा ७६ अङ्क प्राप्त गरी प्रथम भएको प्रदेशसभा कानुन अधिकृत तथा निर्णयमण्डलको अध्यक्ष मदन खड्काले जानकारी दिनुभयो । प्रथम हुने उपाध्यायलाई रु १० पुरस्कार राशि रहेको कानुन अधिकृत खड्काले बताउनुभयो । उहाँका अनुसार द्वितीय हुने सुर्खेत चिल्डे«न प्याराडाइजका छात्रा सावित्री भट्टराईले (७५.६६), तृतीय हुने नेपाल राष्टिय मावि सुर्खेतका छात्र शङ्कर आचार्यले (७५.३३), चौथो हुने जन नमूना मावि सुर्खेतका छात्रा ज्योति देवकोटाले (७५) र पाँचौँ हुने सिद्धापाइला इङ्गलिस मिडियम स्कुल सुर्खेतका सुशान सापकोटाले (७४.३३) अङ्क प्राप्त गरेका थिए ।

द्वितीय हुनेलाई रु सात हजार, तृतीयलाई रु पाँच हजार, चौथौ र पाँचौँलाई जनही रु दुई हजार ५०० पुरस्कार राशि रहेको उहाँले जननाउनुभयो । प्र्रतियोगितामा सफलता हासिल गर्ने सबै छात्रछात्रालाई कर्णाली प्रदेशसभाको आज २१ गते मनाइने स्थापना दिवसमा नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी स्थापना दिवसमा उक्त वक्तृत्वकला प्रतियोगितामा छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान प्राप्त गर्ने सुर्खेत एसओएस माविका छात्रा सदीक्षा नेपाल, जन नमूना माविका छात्र नवीन कँडेल, शिव माविका छात्रा सलिना विष्ट, त्रिपुरेश्वर माविका छात्र धीरेन्द्र सापकोटा र सुर्खेत होराइजन एकेडेमीका छात्र शिशिर सापकोटालाई सम्मान गर्ने बताइएको छ ।

\संसद्बारे आजका युवालाई परिचित गराउने, राजनीतिमा सक्षम नेतृत्व प्रवेशका लागि जागरुक बनाउने, सबल सांसद् बन्न सपना देखाउने र त्यसप्रति अहिलेदेखि जिम्मेवारीवोध गराउने उद्देश्य राखेर प्रदेशसभाले ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षककको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा कर्णाली जाजरकोट, दैलेख र सुर्खेतका गरी ३० प्रतियोगीले भाग लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । –––