२८ माघ, बागलुङ । यहाँका सञ्चारकर्मीले दिवङ्गत अग्रज पत्रकार विदुर खड्कालाई ‘अभिभावक र मार्गदर्शक’का रूपमा स्मरण गरेका छन् ।

खड्काको निधन भएको नवौँ दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाद्वारा आयोजित शोकसभामा बोल्ने वक्ताले धवलागिरि क्षेत्रमा पत्रकारिताको उन्ननयमा उहाँको योगदान सम्मानयोग्य भएको धारणा राख्नुभयो ।

जीवनको आखिरीसम्म आफूलाई पत्रकारितामा सक्रिय राखेर ७८ वर्षको उमेरमा दिवङ्गत हुनुभएका खड्काले पत्रकारिता गरिरहेको नयाँ पुस्तालाई अनुभव र शिक्षा छाडेर गएको शाखाका उपाध्यक्ष नवीन शिशिर विकले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संस्थापक संयोजक भएर महासङ्घको साङ्गठनिक जीवनमा खड्काले पु¥याउनुभएको योगदानलाई कहिल्यै बिर्सन नसकिने उहाँको भनाइ थियो ।

“विदुर काकाको निधनमा जसरी उहाँको परिवारजन दुःखी हुनुहुन्छ, हामीलाई पनि पत्रकारिता जगत्को अभिभावक गुमाउनुपर्दाको पीडा छ, उहाँ महासङ्घ बागलुङको जन्मदाता हुनुहुन्थ्यो”, उपाध्यक्ष विकले भन्नुभयो । खड्काको संयोजकत्वमा विसं २०५७ मा गठित महासङ्घको धवलागिरि शाखा यस क्षेत्रका पत्रकारको पहिलो सङ्गठन थियो ।

पर्वत, म्याग्दी र मुस्ताङमा महासङ्घको सङ्गठन विस्तार भएपछि धवलागिरि शाखा बागलुङ शाखाका रूपमा रहन पुगेको थियो ।

पछि खुलेका शाखाले अहिले पनि बागलुङलाई मातृ शाखाका रुपमा लिन्छन् । उपाध्यक्ष विकले परिवारजनसँग समन्वय गरेर महासङ्घले दिवङ्गत खड्काको स्मृतिलाई चीरस्थायी बनाउन केही रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

झण्डै ५० वर्षसम्म सञ्चारकर्ममा क्रियाशील रहनुभएका खड्काले नयाँ पिँढीलाई हरहमेशा पत्रकारिता कर्ममा प्रेरित गर्नुहुन्थ्यो । विसं २०२८ मा आफँै प्रकाशक–सम्पादक भएर उहाँले यहाँबाट ‘धौलाश्री’ साप्ताहिकको प्रकाशन थाल्नुभएको थियो ।

विसं २०५८ मा दैनिकरूपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । केही महिनाअघिसम्म पनि पत्रकारितामा सक्रिय खड्का रोगले थलिँदै जाँदा उपचारका लागि काठमाडौँ बस्नुपर्ने भएपछि निष्क्रिय हुनुहुन्थ्यो ।

समाजमा देखापर्ने बेथिति, विसङ्गतिमाथि उहाँले ‘कालीगङ्गा’का नामबाट कडा टिप्पणी लेख्नुहुन्थ्यो । जिल्लाका महत्वपूर्ण समाचारको ‘ब्रेक’ कहिलेकाहीँ खड्काले चलाएको ‘ई–बागलुङ डटकम’मार्फत नै हुन्थ्यो ।

उहाँले गत वर्ष पत्रकार महासङ्घले निकालेको ‘धवलागिरिको पत्रकारिता’ ग्रन्थका लागि ‘स्मृतिमा पत्रकारिताको ५० वर्ष ः ट्रेडलदेखि अनलाइन पोर्टलसम्म’ शीर्षकमा लेख लेख्नुभएको थियो । त्यो लेख नै उहाँको अन्तिम बन्न पुग्यो ।

त्यसमा खड्काले आफ्नो पत्रकारिता जीवनका सिकाइ, अनुभव र उतारचढावलाई लिपिबद्ध गर्नुभएको छ । लेखमा उहाँले विसं २०२४ मा पाटन कलेजमा अध्ययनरत छँदा कलेजको वार्षिक मुखपत्र ‘ललिता’को सम्पादक भएर जिम्मेवारी ग्रहण गरेको सन्दर्भलाई सुरुमै उल्लेख गर्नुभएको छ ।

खड्काले विसं २०२७ मा गोरखापत्रको संवाददाताका रुपमासमेत काम गर्नुभएको थियो । विसं २०२८ मा ‘धौलाश्री’ साप्ताहिक प्रकाशनसँगै उहाँले निरन्तररूपमा बागलुङमा बसेर पत्रकारिता र महासङ्घको संस्थागत विकासमा आफूलाई समर्पित गर्नुभयो । उहाँ यहाँको पत्रकारिताको अनुज पुस्तामाझ ‘विदुर काका’ भनेर बढी चिनिनुहुन्थ्यो ।

शाखाका सचिव विजय रानाले पत्रकार–सञ्चारकर्मीसहित महासङ्घका पदाधिकारी दिवङ्गत खड्काको निवासमै पुगी शोकसभा राखेर श्रद्धाञ्जलि व्यक्त गरिएको बताउनुभयो ।

उहाँले सिङ्गै धवलागिरिको सञ्चार जगत्मा अग्रज पत्रकार खड्काको अभाव सधँै खड्किरहने उल्लेख गर्नुभयो । लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उहाँको काठमाडौँमा उपचारका क्रममा यही माघ १९ गते निधन भएको थियो ।