२ फागुन, कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उहाँले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भन्नुभयो ।
 “शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उहाँले भन्नुभयो, “सबैका आ–आफ्ना परिभाषित जिम्मेवारी छन्, सबैले ती जिम्मेवारी पूरा गरे सामुदायिक विद्यालय नमूना बन्न सक्छन, सबैको सहकार्यबाट सकारात्मक नतिजा आउँछ ।” भेरीगङ्गा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
 शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले चालु आर्थिक वर्षको पहिलो चरणमै सामुदायिक विद्यालय भवनको शिलान्यास सुरु भएको जनाउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न विद्यालय व्यवस्थापन र उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नगरउप्रमुख उपप्रमुख रेणु आचार्य, वडाध्यक्ष मानबहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो 

कर्णालीमा टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट ‘एनटी टिभी’ सेवा पनि सुरु गरेको हो । 

टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले एनटी टिभी सेवाको शुभारम्भ गर्दै एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्न सफलता मिलेको बताउनुभयो । 
अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट, आइपीटीबी र भिडियो) सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी रहेको उहाँको भनाइ छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महसुल बुझाउन वा रिचार्ज गर्न सकिनेछ ।
 एफटीटीएच सेवामार्फत भ्वाइस, डाटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटी टिभी सेवा प्राप्त गर्न नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । 

टेलिकमको यो सेवा ४२ जिल्लामा विस्तार भइसकेको छ । एनटी टिभी विस्तारले प्रदेश सरकारको डिजिटल कर्णाली स्थापना गर्ने अभियानमा सहयोग मिल्ने टेलिकम प्राविधिकको विश्वास छ ।
 टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवासँगै फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराएको हो । टेलिकमका प्रादेशिक निर्देशक मल्लिकले तामाको तारबाट चल्ने परम्परागत टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरी अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने अभियानमा जुटेको बताउनुभयो ।  

टेलिकम सुर्खेत कार्यालयका प्रमुख सन्तोष शर्माले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीन थरी सेवा उपलब्ध हुने एफटीटीएच सेवाको विस्तारसँगै मर्मत र निरन्तरतामा पनि ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । 
सुर्खेतमा टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) सेवाका ग्राहकको सङ्ख्या करिब छ हजार पुगेको छ । “एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेका छौँ”, सुर्खेत कार्यालय प्रमुख शर्माले भन्नुभयो, “टेलिकमको एनटिभी सेवाले सहरी सौन्दर्य कायम राख्न सघाउ पु¥याउनेछ ।” यसैबीच टेलिकमले आइतबार एनटी टिभी सेवाका पहिलो ग्राहक वीरेन्द्रनगर–१० खजुराका अमृतबहादुर रानालाई सम्मान गरेको छ ।