३ फागुन, काठमाडौँ । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताउनुभयो । अहिले एक तिहाई मात्र उपचार गर्न आउँछन् । आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ ।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उहाँले बताउनुभयो । “क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्”, उहाँले भन्नुभयो, “अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ । ”

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् ।

नेपालमा वर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् । बालबालिकालाई रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गौलाका ट्युमर जस्ता क्यान्सर लाग्ने गरेका छन् ।

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायतमा उपचार हुन्छ ।

कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले बाल–क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउनुहुन्छ । क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पु¥याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सृदढीकरण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

पौडेलका अनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो ।

अस्पतालका निर्देशक डा पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताउनुहुन्छ । “अहिले हुने खानेले मात्र आफ्ना बालबालिकालाई पाठेघरमा हुने क्यान्सरको खोप लगाएका छन्”, उहाँले भन्नुभयो, “सरकारले नै बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउन सके धेरै बालबालिका क्यान्सरबाट बच्न सक्ने थिए ।”