४ फागुन, मङ्गलबारे । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङ्देन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङ्देनलाई अभिनन्दन गरेको छ ।

मङ्गलबार नेपाली कांग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलीले धर्मगुरुकै निवास इलामको माङसेबुङ गाउँपालिका–५ स्थित लारुम्बामा गएर उहाँहरुलाई अभिनन्दन गरको हो ।

धर्मगुरुको ६८औँ नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६औँ जन्मोत्सवका अवसरमा कांग्रेसले अभिनन्दन गरेको सभापति खड्काले बताउनुभयो । ‘नेपाली कांग्रेस’ लेखिएको ‘सुन र चाँदी’ द्वारा निर्मित ब्याच धर्मगुरु र धर्मुगुरुपत्नीलाई लगाइदिएर सम्मान गरिएको उहाँले बताउनुभयो । विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टिजगत्कै रक्षाका लागि महान् अभियान सञ्चालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको प्रचारप्रसारमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको सभापति खड्काले बताउनुभयो ।

उहाँले माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आफ्नो र पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मङ्सिर २०११ जन्मिनुभएका धर्मगुरु लिङ्देनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणका लागि अभियान चलाइ रहनुभएको छ ।

उहाँलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गर्नुभएको छ ।