९ फागुन, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– ६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर हुन थालेका छन् । सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त हुनुहुन्छ । बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्नमै समय बिताउनुहुने उहाँ अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्न सक्ने हुनुभएको छ ।

गाउँमै गाउँपालिकाले छ महिने सीपमूलक तालिम दिएपछि अहिले काम गर्न सहज भएको तिलनदेवीेले बताउनुभयो ।
सात कक्षा पढ्दा पढ्दै स्कुल छाड्नु भएकी हियाखोलाकै पार्वती कामीले पनि अशिक्षित महिलालाई होजियारीको सीप दिन थालेपछि अहिले विभिन्न कपडा बुन्न थाल्नु भएको छ । हाते होजियारी उद्योगले गर्दा यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्न थालेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिनुभयो ।

अहिलेसम्म यहाँका बासिन्दाले सरकारी काम पाउन सकेका छैनन् । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला नै हो । उहाँले भन्नुभयो,“अब रोजगारी सिर्जना गर्नका लागि गाउँमै हाते होजियारी उद्योग स्थापान गर्न लागिपरेको छु । यो वडा कार्यालयले बेरोजगारीलाई रोजगारी दिनका लागि विभिन्न विकल्प अवलम्बन गरेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

नगरपालिकाको टोल शिक्षा कार्यक्रम

कोरोनाले शिक्षण सिकाइमा असर पारेपछि चन्दननाथ नगरपालिकाले दशवटै वडाका टोल–टोलमा ४५ शिक्षक÷शिक्षिकामार्फत टोल शिक्षा कार्यक्रममार्फत पठनपाठन सञ्चालन गर्न थालेको छ ।

युनिसेफ नेपालको सहयोग र चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा उक्त कार्यक्रम सचालन गरिएको हो । अभिभावकको सहयोगमा बालबालिकाले घरमै पढाउन सकिने सिकाईका क्रियाकलापसहित पुस्तकसमेत उपलब्ध गराएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागाईंले बताउनुभयो ।

कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर पढाइ सुरु गरिएको हो । टोलमा पुग्ने शिक्षक–शिक्षिका तथा विद्यार्थीका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराइएको छ । पढाइ हुने समयमा कोरोनाले गर्दा विद्यालय बन्द भएका बेला घरमै बसेका बालबालिकाको पढाइमा सहयोग गर्ने उद्देश्यले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठनपाठनलाई अघि बढाइएको उहाँको भनाइ थियो ।

टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा भेला गरेर आ–आफ्ना विषयको पठनपाठन गराइरहेका हुन् । नगरपालिकाभित्रका प्रत्येक टोलमा सञ्चालन भएका टोल शिक्षाको अनुगमनसमेत हुने गरेको जनाइएको छ ।

सडक नाटकमार्फत विद्यार्थी भर्ना

चन्दननाथ नगरपालिकाले सडक नाटकमार्र्फत विद्यार्थी भर्ना अभियान सञ्चालन छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागार्इंले फागुन २० गतेसम्म वडामै सडक नाटकमार्फत विद्यार्थी भर्ना अभियान चलाइएको जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराऔँ भन्दै सडक नाटक देखाइएको नगरपालिको शिक्षा शाखाले जनाएको छ । सडक नाटकमा विशेषगरी विद्यालयको नयाँ भर्ना अभियान, पढाइको महत्व, सामुदायिक विद्यालय कमजोर हुनाको कारणलगायत विषय समेटिएको बताइएको छ ।