१२ फागुन, काभ्रेपलाञ्चोक । युवामा भएका सिर्जना, सोच र ज्ञानलाई उद्यमशीलतामा परिणत गरी व्यावसायिक बनाउन राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र (युथ इनोभेसन सेन्टर) स्थापना गर्न लागिएको छ ।

बेरोजगार युवामा भएको प्रतिभा प्रस्फुटन गराई व्यावसायिक बनाउने उद्देश्यले राष्ट्रिय युवा परिषद्, काठमाडौँ विश्वविद्यालय, नमोबुद्ध नगरपालिका र आइडिया स्टुडियो नेपालको सहकार्यमा केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्र स्थापनाका लागि परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिना, विश्वविद्यालयका निर्देशक प्राडा दीपकप्रसाद सुवेदी र स्टुडियोका बोर्ड अफ डारेक्टर सुरेश सिम्खडाले बुधबार एक कार्यक्रमकाबीच सझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिका– ८ मा ५२ रोपनी जग्गा छुट्याइसकेको छ । नवीनतम सोच लिएका युवालाई आवश्यक परामर्शका साथ प्राविधिक तथा व्यावसायिक तालिमका माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्र स्थापना हुन लागेको जनाइएको छ ।

सोही क्रममा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र तथा इन्क्युबेसन सेन्टर सञ्चालन तथा नमूना विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्थापनका लागि बहुपक्षीय समझदारीमा हस्ताक्षर गरी कार्यान्वयन प्रक्रिया सुरु गरिएको हो । केन्द्रबाट देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेशनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले नवप्रवर्तन तथा इन्क्युवेशनलाई आफ्ना क्रियाकलापमा आत्मसात गर्दै लैजाने, देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाले नवप्रवर्तनका अनुसन्धानलाई समेट्दै लैजाने तथा विज्ञान र प्रविधिका विद्यार्थीलाई तोकिए बमोजिम प्रतिस्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउदै लैजानेलगायतका लक्ष्य राखिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले बेरोजगार युवामा रहेको प्रतिभा र सोचअनुसार प्रशिक्षित गरी उद्यमशीलता बनाइने बताउनुभयो । नेपालमा पहिलोपटक बेरोजगार युवालाई लक्षित गरेर ल्याउन थालिएको परियोजना मुलुककै गौरवको आयोजना हुने उहाँको भनाइ छ । “युवालाई स्वरोजगार बनाउने अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाका लागि हामीले केन्द्र स्थापना गर्दैछौँ”, उहाँले भन्नुभयो, “केन्द्रमा बसेर युवाको प्रतिभा र सोच हेरेर उनीहरुलाई कुनै न कुनै पेशामा दखल बनाएर व्यावसायिक बनाउनेछौँ ।” केन्द्रमा रहेर युवाले आफ्नो सोच, ज्ञानअनुसार कुन व्यवसाय गर्न चाहने हो, सोही अनुसार त्यही अध्ययन–अनुसन्धान गर्नेछन् । त्यही अनुसार ती युवालाई उक्त व्यवसायको योजनाअनुसार उद्यमशीलता बनाइनेछ ।

केन्द्रमा युवामा भएको नवीन, ज्ञान र सोचलाई छोटो वा लामो किसिमका तालिमबाट प्रस्फुटन गराई व्यावसायिक बनाइने बताइएको छ । अहिले नेपालमा ४०.३ प्रतिशत युवा भए पनि नेपालमा युवा साक्षरता ७१, युवा स्वरोजगारको अवस्था ५८.८, कृषिमा संलग्न युवा ५०.५ र बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् । केन्द्र स्थापनाका लागि यस वर्ष जग्गा प्राप्ति र योजना बनाउनका लागि परिषद्ले रु ५० लाख र विश्वविद्यालयले रु ५० लाख रकम विनियोजन गरिएको छ ।

कार्यकारी उपाध्यक्ष बस्नेतका अनुसार समझदारीमा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषद्ले निर्वाह गर्नेछ । यस्तै, नमोबुद्ध नगरपालिकाले जग्गा भोगाधिकार र अभ्यास साझेदारको रुपमा भूमिका निर्वाह गर्नेछ भने काठमाडौं विश्वविद्यालयले ज्ञान साझेदार र आइडिया स्टुडियो नेपालले प्राविधिक साझेदारको रुपमा भूमिका निर्वाह गर्नेछन् । केन्द्र स्थापनाका लागि नगरपालिकाले डेढवर्ष अघि नै आरुबारीचौरमा रहेको ५२ रोपनी जग्गा उपलव्ध गराउने निर्णय गरिसकेको छ । हाललाई पाँच वर्षका लागि चारवटा पक्षबीच समझदारी गरिएको र आवश्यकताअनुसार अवधि थप गर्ने सहमति भएको छ । सरकारले युवा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन गराउने कार्यक्रमका रूपमा ‘युवा नवप्रवर्तन केन्द्र’को स्थापनालाई पन्ध्रौँ योजना (आव २०७६÷७७–२०८०÷८१) को आधार पत्रमा उल्लेख गर्दै आव २०७६÷७७ को नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिसकेको छ ।

नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रूपमा खोजी गर्दै उनीहरूमा भएको प्रतिभा प्रस्फुटनको अवसर जुटाई प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ । सोही नीतिअनुसार नमोबुद्धमा राष्ट्रियस्तरको नवप्रवर्तन केन्द्र स्थापना हुनु खुसी र गौरवको विषय भएको नगर प्रमुख तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार केन्द्र स्थापना र सञ्चालनका लागि नगरले हरसम्भव सहयोग गर्दै समझदारीअनुसार तत्कालै काम अघि बढाइनेछ ।

परिषद्ले आर्थिक वर्ष २०७७÷०७८ मै एक प्रदेश एक नेशनल युथ इनोभेशन एण्ड इन्क्युवेशन सेन्टर स्थापनाको नीति लिएको थियो । परिषद्ले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको प्रशासनिक काम सुरु गरेको थियो । यसलगत्तै प्रदेश नं १ स्थित मोरङको उर्लाबारीमा पनि केन्द्र स्थापनाका लागि बुहपक्षीय समझदारीसँगै प्रशासनिक प्रक्रिया सुरु गरेको थियो । सेन्टरका लागि शान्तिपूर्ण र स्वच्छ वातावरण आवश्यक पर्ने भएकाले नमोबुद्ध छनोट गरिएको जनाइएको छ । सात प्रदेशमा एक केन्द्र स्थापनापश्चात ‘विकासमा नयाँ प्रविधि’अन्तर्गत एक हजार युवालाई सहभागिता गराइने योजना बनाइएको छ ।

योजनाअनुसार वार्षिक एक हजार युवाको आइडियालाई स्क्रिनिङ गरी एक सय युवाको आइडियालाई छनोट गरिनेछ, जसले युवाको सीप विकाससँगै नयाँ विज्ञान–प्रविधिको प्रयोगले देशको समग्र विकासमा फड्को मार्न प्रमुख भूमिका खेल्नेछ । ७७ जिल्लाका युवाको सभागिता पश्चात् प्रत्येक जिल्लामै ‘स्क्रिनिङ’ सेन्टरको स्थापना गरिने तथा पहिलो चरणमा राष्ट्रिय गौरवका ७७ योजना बन्नेछन् र १० वर्षमा त्यो लक्ष्य पूरा गरिने भएको हो । नयाँ विज्ञान–प्रविधिको प्रयोगमा समग्र विकास नयाँ चरणमा प्रवेश गरेपछि युवाको विदेशिनेक्रम न्यूनीकरण हुँदैजाने अपेक्षा गरिएको छ ।