१५ फागुन, भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित घट्टाको बाँध, धोविखोला मोटरेवल पुल, त्यससँगैको विश्रामस्थल, टेबुलटेनिस तथा ब्याडमिन्टन कोर्टसहितको खेल मैदानको आज एकैसाथ शुभारम्भ गरिएको छ ।

सङ्घीय सरकार, वागमती प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा स्थानीय समुदायको सहयोगले निर्माण गरिएको संरचनाको सांसद महेश बस्नेत र बाग्मती प्रदेशसभा सदस्य शशीजंग थापाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

पूर्वमन्त्रीसमेत हुनुभएका सांसद बस्नेतले पार्टी अहिले सत्तामा नरहदा पनि एमालेले भक्तपुरको राजनीति बिग्रन नदिएको बताउनुभयो । बग्मती प्रदेशसभा सदस्य थापाले तीनवटै सरकारले भक्तपुरको विकासमा नमूनाको रुपमा काम अगाडि बढाएको छ भन्नुभयो ।

यहाँ वर्षैसम्म बन्न नसकेका सडक, पुल बनेको, अधिकांश सडक कालोपत्र भएको, सबै गाउँमा सडक पुगेको, प्रत्येक सडकमा ढलसहितको कालोपत्र गर्ने क्रम जारी रहनाका साथै, विद्यालय, सामाजिक सङ्घसंस्थाका भवन, अस्पताल, स्वास्थ्य संस्था, खानेपानीको विकासबाट भक्तपुरलाई सम्पन्न बनाउन सफल भएको बताउनुभयो ।

वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले सङ्घीय सरकारको रु एक करोड ४२ लाखको बजेटमा नगरपालिकाबाट बोलपत्र आह्वान गरी रु ६३ लाख ६१ हजार ४६ मा घट्टाको बाध पुल र बाग्मती प्रदेश सरकारको रु १० लाखको लागतमा तयार गरिएको खेल मैदान तथा नगरपालिकामा रु ८ लाखमा तयार गरिएको प्रतिक्षालय निर्माण गरिएको बताउनुभयो ।
जिसस उपप्रमुख सरिता कुँवर, नपाका उपप्रमुख जुना बस्नेत, नपाका प्रमुख प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेललगायतले सूर्यविनायकको नमूना विकासबारे चर्चा गर्नुभयो । कार्यक्रममा ई रुद्र काफ्लेलाई सम्मान गरिएको थियो ।