१६ फागुन, चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।

महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलोपटक नगद छात्रवृत्ति प्रदान गरेको हो ।

महानगरको कूल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।  
विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरणलगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो  । आफूहरुले महानगरभित्रको शिक्षाको विकासमा सुरुका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णत पाउँदै गएको उपप्रमुख शाहले बताउनुभयो । 

छात्रवृत्ति वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बंैकमार्फत विद्यालयको खातामा पठाएको महाशाखाले जनाएको छ ।