१८ फागुन, काठमाडौं । वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको तेस्रो स्मृतिसभा आज हुँदैछ। 

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा गर्न लागेको सभाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन्। अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो । 

एमालेको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारी उक्त सरकारका कतिपय जनमुखी कार्यक्रमका कारण लोकप्रिय छन्। अधिकारीले नै वृद्धवृद्धा र एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममार्फत माशिक भत्ता दिने कार्यक्रम थालेका थिए। 

मासिक एक सय रूपैयाँबाट सुरू भएको सामाजिक सुरक्षा भत्ता बढेर पछिल्लो समय ४ हजार पुगेको छ। यस्तै महिलाका नाममा घरजग्गा खरिद गर्दा रजिष्ट्रेशन शुल्क छुट गर्ने नीति अघि सारेर उनले महिला सशक्तीकरणमा समेत योगदान गरेका थिए। 

उक्त व्यवस्थाका कारण धेरै महिला सम्पत्तिका मालिक भएका छन्। ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत अधिकारीले पहिलोपटक स्थानीय तहमा विकास बजेट पठाउने कामको पनि प्रारम्भ गरे। सहकारीमार्फत आर्थिक कारोबारमा जनताको पहुँच वृद्धिका लागि उनले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ कार्यक्रम अघि सारेका थिए । 

स्मृतिसभामा सामाजिक जीवनका विविध क्षेत्रमा उदाहरणीय काम गरेर ख्याती कमाएका प्रदेश–१ का सात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ। 

विराटनगरमा पनि ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम 
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा पनि अशिक्षित जेष्ठ नागरिकका लागि शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।

स्मृति दिवसको  अवसर पारेर उक्त कार्यक्रम घोषणा गर्न लागिएको अधिकारी पुत्री एवं प्रतिष्ठानकी सदस्य लीमा अधिकारीले जानकारी दिइन्। 

उनका अनुसार विभिन्न कारणले उमेर छँदा औपचारिक शिक्षाबाट बञ्चित ४० वृद्धवृद्धालाई शिक्षा प्रदान गरिनेछ। कार्यक्रमको नाम ‘आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रम’ दिइएको छ। 

आफूहरूको अभियानबाट निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित वृद्धवृद्धाको सशक्तीकरणमा मद्धत पुग्ने विश्वास प्रतिष्ठानको छ। एक वर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, दैनिक हिसाब राख्न, मोबाइल फोन, ग्याजेट तथा विद्युतीय उपकरण प्रयोग गर्न तथा सडक सङ्केत बुझ्न सक्ने बनाउने लक्ष्य लिइएको अधिकारीले बताइन्। 

कक्षामा सहभागी ज्येष्ठ नागरिकलाई प्रतिष्ठानले नै शैक्षिक सामग्री, मोबाइल फोन, झोला दिवा खाजा तथा कक्षामा आउजाउ गर्न बसको व्यवस्था मिलाउने छ। सिकाई मापन गर्न महिनाको एकपटक आंशिक र १२औं महिनामा अन्तिम परीक्षा लिइनेछ। परीक्षापछि उनीहरुको सिकाइअनुसार प्रमाणपत्र दिइनेछ। 

प्रतिष्ठानले यसअघि ललितपुरको बुङमतिमा यस्तै प्रकृतिको ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममा ४० ज्येष्ठ नागरिक सहभागी छन् । मुलुकका सातवटै प्रदेशमा अभियान विस्तार गर्ने लक्ष्य प्रतिष्ठानको छ।