२० फागुन, बनेपा । नमोबुद्ध नगरपालिकाले महिलाका लागि नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका र समाज कल्याण शाखाद्वारा दुई चरणमा ६४ महिलालाई सो तालिम प्रदान गरिइएको हो ।

तालिममा संस्थागत सुशासन र सञ्चार सीप, दृष्टिकोण र बानी व्यवहारमा परिवर्तन, नेतृत्व अवधारणा, गुण र सीप, सामाजिक संरचना र सामाजिक बहिष्करण लगायतका विषयमा जानकारी दिइएको थियो । तालिमको मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो भने राजनीति र निर्वाचन प्रणालीका विषयमा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, क्षमता विकास, वकालत र पैरवीको विषयमा महिला विकास शाखाका प्रमुख तारादेवी सुनुवार र प्रभावकारी सार्वजनिक भाषण तथा उद्घोषण कलाका विषयमा रेडियोकर्मी शुभराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

पहिलो र दोस्रो चरण गरी यही फागुन १० देखि १६ देखि १९ गतेसम्म गरी आठ दिन सञ्चालन भएको तालिममा विभिन्न राजनीति पार्टीका अगुवा महिलाको सहभागिता रहेको थियो । समूह कार्य, छलफल, प्रस्तुति, प्रश्नोत्तर, लघु प्रवचन, खेल र गाउँकी छोरी वृतचित्र प्रस्तुतिलगायत माध्यमबाट तालिम दिइएको आयोजकले जनाएको छ । यसरी लिएको तालिम सामाजिक कार्यमा अगाडि बढ्नका लागि उपयोगी हुने जनाइएको छ ।

नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले समाजमा महिला र पुरुषबीचमा विभेद अन्त्य गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।  उपप्रमुख रामदेवी तामाङले सामाजिक कार्यसँगै राजनीतिक गतिविधिको विषयमा पनि चासो राख्न आवश्यक भएको बताउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत  पौडेलले नेतृत्व गर्नु र राजनीति गर्नु फरक कुरा रहेको जनाउँदै ग्रामीण महिला नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।