२० फागुन, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने करिब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोत पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ । पदमार्ग र प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोतस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

यहाँ विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्गभवानीकोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार निर्माण, घेराबार, विभिन्न देवीदेवताका मन्दिर निर्माण, टेलिकमको फोर जी टावर निर्माण लगायतका पूर्वाधारहरु निर्माण भएपछि पहिला पहिला सुनसान देखिने यो स्थल यहीले सबैलाई आकर्षित गर्न सफल भएको छ ।

भकुण्डेदेखि खड्गभवानीकोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानीकोत पुग्न सहज भएको छ ।

आव २०७५÷७६ मा मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको बेनी –२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारीदिनुभयो । पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दूरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिँड्डुल गर्न सकिनाका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीयवासी हरि घिमिरेले विश्वास गर्नुभयो ।

यसैगरी कन्थराज थानदेखि खड्गभवानीकोतसम्म जाने २४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अब दुुईतिरबाट नै खड्गवानीकोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । खड्ग भवानीकोत परिसरबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, चुरेन लगायतका १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँहरु, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ ।

खड्ग भवानीकोतस्थललाई राजधानी बनाई विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाले ज्यामरुककोतमा राज्य गरेका थिए । यस कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री रहेका छन् ।

युक्रेनबाट तीन म्याग्देलीको उद्धार 

युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्दीवासीको उद्धार गरी पोल्यान्डमा लगिएको छ । रुस र युक्रेनबीचको युद्धमा चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्दीवासीको उद्धार गरी पोल्यान्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारीअनुसार युद्ध प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरुमा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका –७ बिमका तिलक सुनार र बेनी –३ भकिम्लीका नारायण पुन रहनुभएको छ । उहाँहरुलाई पोल्यान्डमा रहेका नेपाली सङ्घ संस्थामार्फत उद्धार गरिएको जनाइएको छ । अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तव्यमा पुगिसकेको भए पनि भकिम्लीका पुन पोल्यान्डको सीमा क्षेत्रमा नै रहनुभएको छ । “उहाँ उद्धारकर्तासँगै हुनुहुन्छ, बिरामी हुनुहुन्छ, त्रसित भएजस्तै गर्नुभएको छ,” अध्यक्ष परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।  

पोल्यान्डमा रहेको नेपाली सङ्घसंस्था सीमा क्षेत्रबाट नियमित उद्धारमा खटिएको उनले बताए । पासपोर्टमा भकिम्ली लेखिए पनि पुनले आफू बरञ्जा भएको बताउने गरेकाले उद्धारका क्रममा समस्या भएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति पोल्यान्डका सभापति भीम परियारले उद्धारको क्रम जारी रहेको बताउनुभयो । “म्याग्देलीको पहिचानमा जुटेका छौँ, भीडभाड धेरै भएकाले उद्धार गरिएको स्थानमा पुगेपछि सङ्ख्या बढ्ने देखिएको छ,” उहाँले भन्नुभयो  । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि नेपाली हेल्प डेस्कमार्फत उद्धारमा जुटेका छन् । उद्धार गरिएकालाई सुरक्षित स्थानमा खानपिनसहित स्वास्थ्य चेकजाँचसहितको सुविधा रहेको बताइएको छ । युक्रेन छोडेर नेपालीहरु पोल्यान्डबाहेक स्लोभाकिया, हङ्गेरी, रोमानियाम र माल्डावामा समेत पुगेका सभापति परियारले जानकारी दिनुभयो ।