२२ फागुन, बेनी । म्याग्दीको बेनी नगरपालिका–१स्थित रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारी पूरा भएको छ । रत्नेचौरको पदम वैदिक सनातन धार्मिक आश्रमस्थित श्रीलक्ष्मी हरि मन्दिरमा यही फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गर्न लागिएको हो।

लक्ष्मीहरि भगवान्को २५औँ रजतजयन्ती तथा मन्दिर संस्थापक जगतगुरु जीयर स्वामीजी महाराजको शताब्दीऔँ जन्मदिनका अवसरमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको अधिकांश तयारी पूरा भएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो । सोमबार महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्नुहुने भएको छ । उद्घाटन कार्यक्रममा साँस्कृतिक झाँकीसहित हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम तय गरिएको छ । 

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर, प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग गर्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “तोरीबारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ, यो धार्मिक महोत्सवले यहाँका धार्मिक स्थलको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो । 

महाज्ञयका अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवको प्रचारप्रसार तथा आवश्यक तयारीका लागि गठित १५१ सदस्यीय समितिले अधिकांश काम पूरा गरेको प्रचारप्रसार समितिका संयोजक विक्रम बोगटीले जानकारी दिनुभयो । 

महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक सङ्घसंस्थालाई समेत सहभागिताका लागि अनुरोध गरिएको छ । यस अगाडिसमेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको थियो ।भौगोलिकरुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने स्वामी हिमालय बाबाजीले बताउनुभयो । महायज्ञमा सङ्कलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने जनाइएको छ ।