२२ फागुन, भजनी । नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले यसलाई निकै लोकप्रिय खेल मानिन्छ ।

नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो । केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो । स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गर्नुभएका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ । भलिबललाई नजिकबाट नियाल्नुभएका कैलारी गाउँपालिका–७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रुपमा काम गरेको अनुभव छ । विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लाग्नुभएका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन । उहाँले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रुपमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल हुनुभयो ।

विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहनुभएका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेल्नुभयो । नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उहाँले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन । “मैले भलिबल खेललाई नजिकबाट नियालेको छु । खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन । जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने”, उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो । त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन ।” राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गर्नुभयो ।

अचम्मको कुरा त के छ भने, विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै हुनुहुन्छ । त्यो पनि भलिबल मै । साफ चेम्पेन्सिममा दुई पटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाउनुभयो । विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन् । नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ । “नेविका र मैले दुईपटकसँगै साफ चेम्पेन्सिपमा सहभागी भएका थियौं । म पुरुषबाट थिए भने छोरी महिला टिमबाट”, उहाँले भन्नुभयो, “त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला । जुन मलाई जुर्यो ।”

विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाउनुभएको छ । अहिले पनि उहाँका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी हुनुहुन्छ । विष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भए पनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उहाँले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको विष्णुले बताउनुभयो । कान्छी छोरीले बक्सिङमा राष्ट्रियस्तरको प्रतियोगितामासम्म खेल्नुभएको छ । गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवालाई भलिबल सिकाउँदै आउनुभएका चौधरीले यो खेलका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिरहने बताउनुभयो ।

आफ्नो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै विष्णुले खेलाडीको भविष्य भने अझै सुनिश्चित् हुन नसकेको बताउनुभयो । “खेलाडी उत्पादन नभएको भने होइन । नेपालमा पनि थुप्रै खेलाडी उत्पादन भएका छन्”, उहाँले भन्नुभयो, “खेलाडीको संरक्षण भने हुनसकेको छैन । जसका कारण खेलाडीको सुनिश्चितता हुनसकेको छैन ।” स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको भन्दै विष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताउनुभयो । उहाँले नेपालमा पुरुष भलिबल टिमभन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताउनुभयो । पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको उहाँको भनाइ छ ।

“पुरुष भलिबल टिम पनि कमजोर छ भन्न मिल्दैन तर उहाँहरुले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन”, उहाँले भन्नुभयो, “वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ । प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुनसक्दैन ।” अहिले विष्णु राष्ट्रिय रेफ्रीको भूमिकामा हुनुहुन्छ । सुदूरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उहाँले मुख्य रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै आउनुभएको छ ।