१४ बैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९ वडाका वडाध्यक्ष र सदस्य गरी ४१५ पदका लागि उम्मेदवारी दर्ता भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा एक स्वतन्त्रसहित ६ तथा उपप्रमुखमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा ७७ पदका लागि २८४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा सात र उपप्रमुखमा पाँच सहित १८० जनाको उम्मेदवारी दर्ता भएको छ । एघार वडा रहेको नगरपालिकामा निर्वाचनबाट ५७ जनप्रतिनिधि चयन हुनेछन् ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा चार र उपप्रमुखमा तीन जनासहित ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभयो । ६ वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३२ जना चयन हुनेछन् । केपिलासगढी गाउँपालिकाको प्रमुखमा तीन र उपप्रमुखमा चारसहित १२८ जनाको उम्मेदवारी परेको छ । सात वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन् ।

ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा दुई स्वतन्त्रसहित छ तथा उपप्रमुखमा तीनसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । सात वडा रहेको गाउँपालिकाबाट प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन् । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस–माओवादी केन्द्र तथा जसपा र एकीकृत समाजवादीबीच गठबन्धन भएको गाउँपालिकाबाट ३२ जनप्रतिनिधि चयन हुनेछन् ।

यसैगरी खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा दुई–दुईसहित १११ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकामा ४७ जनप्रतिनिधि चयन हुनेछन् । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा ६ र उपप्रमुखमा चारसहित १३० जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन् । ६ वडा रहेको बराहपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा तीन–तीनसहित ९५ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा ३२ जना निर्वाचित हुनेछन् ।

सबैभन्दा सानो साकेला गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित वडाध्यक्ष तथा सदस्यमा गरी ९७ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचवटा मात्र वडा रहेको गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एमाले एक्लै तथा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हासिल गरेको थियो ।