१६ बैशाख, काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरुबाटै आचार संहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् ।


जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा विहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलले शक्ति प्रर्दशन गरी निर्वाचन आचार संहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारवाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् । नेपाली काँग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाईकासाथ कार्यान्वयन गर्न माग गर्दै आचार संहिता देखावटी मात्रै बन्न नहुनेमा जोड दिनुभयो ।
सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचार संहितामा उल्लङ्घन भएको भन्दै ‘कि जे गरे पनि होस् भनेर खुल्ला छोड्न, कि कडा रुपमा नियम कार्यान्वयन गर्न’ माग गर्नुभयो । उहाँले आचार संहिताको पालना गर्न–गराउन कडाई नगरे दलहरुबीच द्वन्द बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने औँल्याउनुभयो ।


बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दावी विरोधको उजुरी गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले यस्ता त्रुटी सुधार्नुपर्ने उल्लेख गर्दै आयोगले आफूहरुलाई निर्वाचन आचार संहिताको छपाई प्रति उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत बञ्चित गराएको भन्दै आपत्ति जनाउनुभयो ।


राप्रपाका प्रतिनिधि राजिव लामिछानेले विगतका निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने जनाउँदै आचार संहिता पालनामा कडाई गर्न माग गर्नुभयो । सहभागी स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचार संहिता व्यापकरुपमा उल्लङ्घन गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए ।


कार्यक्रममा जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले ‘सर्भर डाउन’ हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुलेनै आचार संहिता बनाएकोले त्यसबारेमा थाहा पाउनुपर्ने बताउनुभयो । आचार संहिता दलहरुले बनाएकाले कार्यान्वयमा दलहरु जिम्मेवार हुनुपर्ने औल्याउँदै उहाँले मतदाता शिक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोग र दलहरुको भएको बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकारहरुलाई सूचनामा सहज पहुँच पुग्ने व्यबस्थापन गर्ने बताउदै निर्वाचन सहज र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधिको अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताउनुभयो । उहाँले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न, मतदाताको मतदान गर्ने अधिकारको सुुनिश्चित गर्न, शान्ति सुरक्षाको पाटो चुस्त दुरुस्त पारिएको बताउदै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गरेर सन्देश दिने जिम्मेवारी दलहरुको पनि रहेको औँल्याउनुभयो ।


कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई शंकास्पद व्यक्ति र गतिविधिबारे समयमै जानकारी गराउन, चुनावलाई शान्तिपूर्ण बनाउन सबैको भूमिका रहने बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचनका सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।


कार्यक्रममा स्थानीय सञ्चारकर्मीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको, निर्वाचन कार्यालयले मिडियालाई सहज सूचना नदिएको, उल्लेख गर्दै निर्वाचनको सम्पूर्ण जानकारी सहजरूपमा उपलब्ध गराउन, निर्वाचनको दिनमा पत्रकारलाई सवारी पासको सहज व्यबस्था गर्न र मतगणना स्थलमा फोटो र भिडियो खिच्ने व्यबस्था गर्न माग गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले निर्वाचन आचार संहिताबारे जानकारी गिराउनु भएको उक्त कार्यक्रममा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष श्यामसुन्दर बस्नेत, नेपाली काँग्रेसका जिल्ला सचिव शुशील बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरु सहभागिता थियो ।