१९ बैशाख, काठमाडौं । नेकपा एमालेबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ । 

काठमाण्डाैकाे एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो’, अर्यालले भन्नुभयाे । 

आयाेगले स्थापितसँगै महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोधेको छ । ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उहाँले बताउनुभयो ।

नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको ‘मीटू’ आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि खनिनुभएको थियो । त्यसपछि पनि उहाँले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएकोबारे पनि निकै आलोचना भएको थियो । ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रसय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो ।