२७ वैशाख, काठमाडौं । गाउँमा खानेकुराको समस्या छ । बारीमा लगाइएको मकै पाक्न समय लाग्छ । बढीमा एक डेढ रोपनी खोरियाबारी हुने चेपाङहरूको अवस्था अहिले पनि हरेक वर्ष बाँच्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ ।
बेनिघाटरोराङ गाउँपालिकामा शिक्षण पेसामा संलग्न तिलक चेपाङले यो समुदायको अवस्था बताउँदा भावुक हुनुभयो । आफूले अध्ययन गर्न सकेका कारण शिक्षक भए पनि ९५ प्रतिशत चेपाङको अवस्था कठिन रहेकाे उहाँ बताउनुहुन्छ । घरमा खानेकुराको अभावले गर्दा बालबालिकामा कुपोषणको समस्या छ । आमाबुबा ज्यालाको खोजीमा घरबाट निस्केपछि दुई/चार दिन आउँदैनन् । छोराछोरी कन्दमूल खोज्न जङ्गलतिर जान्छन् ।
खाजा कार्यक्रम सञ्चालन भएको विद्यालयमा खाजाको भरमा जीवन चलाइरहेको महादेवस्थानका १४ वर्षीय सन्तोष चेपाङले बताउनुभयो । स्थानीय सरकारले समेत दिगो विकासका कुनै पनि कार्यक्रम ल्याउन नसकेको गजुरीका शिक्षक कृष्ण चेपाङको भनाइ छ ।
चुनावमा भोट हाल्नसमेत कठिन हुने ब्रुसबाङका महिला तथा वृद्ध गाउँमा भोट माग्न आउँदा सबै काम गर्छु भन्नेहरू चुनावपछि विकास चहियो भन्दासमेत बेवास्ता गर्ने गरेको विष्णु चेपाङको गुनासो छ । खानेपानी, स्वास्थ्य, शिक्षा, तथा सबै किसिमको अवसरबाट परिरहेको ब्रुसबाङमा यस पटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका उम्मेदवार भोट माग्न गए । धादिङको दक्षिणी क्षेत्रका चेपाङ समुदाय भोट त हाल्छन् तर जहिले भोट हाले नि राहतका लागि काम गर्ने र समुदायलाई विकासमा सहभागी नगराउँदा पछि परेको बताउन थालेका छन् ।
गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा मुख्य बसोबास भएका चेपाङ समुदायको अवस्था यसअघिका धेरै चुनाव आएर गए पनि फेरिन सकेको छैन । पहिले जस्तो अवस्था अहिले नरहेको र केही खुवाएर मात्र अब भोट नआउने अवस्था रहेको सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका उद्धव चेपाङको भनाइ छ । चेपाङ समुदायको दिगो विकासका लागि दीर्घकालीन योजना ल्याउन उनीहरूको माग छ । खासगरी काम र जीवीकोपार्जनका योजना ल्याउन उनीहरूको माग छ ।