जेठ ४,काठमाडौं । स्थानीय तहको चुनाव मतगणनाको चरणमा छ । सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ । परिणाम कुरिरहेका सर्वसाधारणले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन् । आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन ।

तर, अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय गणेश ढुङ्गाना निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिनु भएको छ । उहाँ एउटा सिटी सफारी हाकेर झापाका विभिन्न मतगणनास्थल पुग्ने गर्नुहुन्छ र परिसरमा छरपस्ट प्लास्टिकका बोतल सङ्कलन गर्नुहुन्छ ।

मङ्गलबार बिहानै सिटी सफारी लिएर उहाँ कनकाई नगरपालिका भवन पुग्नुभयो । गाडी लिएर मतगणनास्थल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीेले उहाँलाई रोके । उहाँले भित्र रहेको प्यास्टिकजन्य फोहर सफा गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो । त्यसपछि उहाँलाई प्रवेश अनुमति दिइयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उहाँले मतगणनास्थल रहेको नगरपालिका परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र फुटेका सिसा बटुल्नुभयो । कसै–कसैले सोध्दा उहाँले आफ्नो अभियान सुनाउनुभयो । नसोधेसम्म उहाँले फोहर सफा गर्ने काम एकधुनका साथ गरिरहनुभयो । “कनकाईबाट आज एक गाडी फोहर सङ्कलन गरेर ल्याएको छु,” उहाँले भन्नुभयो, “समाजलाई सफा र स्वच्छ बनाउने मेरो अभियान हो, चुनावका बेला होस् या अरु बेला ।”

उहाँले कनकाईमा सङ्कलन गरेको प्लास्टिक र सिसाका बोतल १४ किलोमिटर पूर्व आफ्नो घर नजिक चौरमा थुपार्नुभएको छ । सबैतिर सङ्कलन गरेको सामान त्यहाँ जम्मा गरेर बिक्री गर्ने र बेचेर आउने नगदले असहाय तथा दृष्टिविहीनका लागि आवास भवन बनाउन सहयोग गर्ने सोच रहेको उहाँले बताउनुभयो ।

वैशाख ३० गते चुनावका दिन पनि उहाँ सिटी सफारी लिएर मतदान केन्द्रमा फोहोर उठाउन जानुभयो । अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज मावि र वडा नं ६ को लक्ष्मी मावि मतदान केन्द्रबाट चार गाडी पानीका खाली बोतल सङ्कलन गरेको उहाँले बताउनुभयो । पूर्व माओवादी लडाकु ढुङ्गाना दश वर्षे सशस्त्रद्वन्द्व सकिएर मुलुक शान्ति प्रक्रियामा गएपछि राजनीतिक जीवन त्यागेर विशुद्ध सामाजिक सेवामा लाग्नुभयो । उहाँले सहयोग जुटाएर गाउँमा मठमन्दिर बनाउने र विपन्नलाई सहयोग पु¥याउने अभियान सञ्चालन गर्नुभयो ।

“कसै कसैले कस्तो बहुला जस्तो रहेछ भनेर हेला गर्छन, तर अधिकांश मानिसले राम्रो काम गर्नुभयो । भन्दै प्रशंसा गरिदिनुहुन्छ,” प्लास्टिकका बोतल टिप्दै हिँड्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गाउँघरमा आफूले गरेको फोहर आफै सफा गर्नुपर्छ भन्ने सोचको विकास हुनसकेको छैन । सधँैभरी मैले टिपेर सम्भव हुँदैन । मैले टाढाबाट गएर फोहर टिपेको देखेर चेतना फैलियोस् भन्ने मेरो चाहना छ ।”

निर्वाचनका बेला भएको फोहर खासमा राजनीतिक दलका कार्यकर्ता आफैले सफा गर्नुपर्ने हो । पानीका खाली बोतल, कुरकुरे र गुट्खाका खोलले निर्वाचनका लागि प्रयोग भएका स्थल भरिएका छन् । दलका कार्यकर्ताले सरसफाइमा ध्यान दिएका छैनन् । ढङ्गनाको फोहर सङ्कलन कार्यमा सुरक्षामा खटिएका प्रहरी र म्यादी प्रहरीले पनि प्रोत्साहित गर्दै आएका छन् ।

“तपाईले राम्रो काम गरिरहनु भएको छ भन्दै म्यादी प्रहरीले प्लास्टिकका बोतल र पोका गाडीमा लोड गर्न सघाउनुहुन्छ”, उहाँले भन्नुभयो, “दलका कार्यकर्ता भने रमिता हेरिरहेका हुन्छन् ।” सामाजिक अभियन्ता ढुङ्गानाले कोभिड– १९ को महामारीका बेला विपन्न र असहायका लागि उपचार र खाद्यान्नको जोहो गरिदिनुभएको थियो । दृष्टिविहीन र शारीरिक अशक्तहरुका लागि त्यसबेला उहाँले अभियान नै सञ्चालन गरेर एक सय बोरा चामल, एक सय पोका दाल, एक सय लिटर खानेतेल सहयोग जुटाउनुभएको थियो ।