जेठ ४,काठमाडौं । संघीय प्रतिनिधिसभामा नयाँ आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै बुधबार सांसद पुष्पा भुसाल गौतमले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकताको खुलेर प्रशंसा गर्नुभयो।

उनले यो बजेट कुनै पनि सरकारले उद्घाटन र शिलान्यास गर्ने भ्रमबाट मुक्त भएर आम नेपाली जनताको विकास, राष्ट्रिय राजनीतिको स्थिरता, र राष्ट्रिय विकासको लागि जनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अर्थतन्त्रलाई सबलीकरणतिर अगाडि बढाउने किसिमबाट यो बजेटको तर्जुमा हुने आशा गरेको बताउनुभयो।

उनले नेपालजस्तो गरिब राष्ट्रमा समाजवादको सिद्धान्तअनुसारको पुँजी निर्माण गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने बताइन्। त्यसको प्रत्यक्ष लाभ लक्षित समुदायले पाउनुपर्ने बताउँदै उनले बजेटको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभयो ।

उनले भनिन्, ‘नेपालको अर्थतन्त्रमा देखापरेका चुनौतीहरुलाई व्यवस्थापन गर्न अहिलेको बजेटको महत्वपूर्ण भूमिका हुनेछ भन्ने कुरामा हामीले विश्वास लिएका छौँ।’

उनले सिद्धान्तभन्दा प्राथमिकता र प्राथमिकता पनि परिणामपरक हुनुपर्ने आफूहरुको मान्यता रहेको सांसद भुसालले उल्लेख गरिन्। डेढ वर्षमा कोभिडको कारण २३ अर्ब बढी नेपालले खर्च गर्नुपरेको, विश्वको आर्थिक मन्दीमा चपेटामा परेकोले बजेट तर्जुमा गर्दा अहिलेको सिद्धान्त र प्राथमिकतामा यी विषय केन्द्रित गरेको, तीन तहका सरकारलाई बलियो बनाउने कुरा, समाजवादोन्मुख अर्थतन्त्रका कुरा, सन्तुलित समावेशी विषयवस्तुहरु रहेको उल्लेख गर्नुभयो ।

ग्रामीण विकासलाई अत्यन्तै महत्व दिइएको, उद्यमशीलतालाई रोजगारीमूलक बनाउन प्राथमिकता दिएको, कृषि र उद्योगमा आत्मनिर्भरतालाई जोड दिइएको, स्वावलम्बनका विषयलाई उठाएको, वित्तीय अनुशासनलाई उठाएको भन्दै उनले त्यसको स्वागत गरिन्।

प्राथमिकतातर्फ उत्पादनवृद्धि, कृषिका उत्पादन बजारमुखी गराएर आमजीवनस्तर बलियो बनाउनुपर्ने बताइन्। ग्रामीण विकास, ऊर्जा र पर्यटनजस्ता क्षेत्रमा आगामी बजेटले महत्वपूर्ण फड्को मार्न सहयोग गर्ने विश्वास गरेको उनको भनाइ छ।

उनले २ वटा पाटोमा बजेट बनाउनुपर्ने बताउँदै युवालाई नेपालभित्रै स्वरोजगार बनाउन कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिन्। उनले बजेटमा रेमिट्यान्स र वैदेशिक रोजगारीबारे नेपालको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताइन्।

आयातनिर्यातको चुनौती सम्बोधन गर्नुपर्ने, पुँजी उत्पादन गरेर गाउँको अर्थतन्त्र चलायमान बनाउने, यातायातको सुधिवा दिएर उत्पादन वितरण गर्नेजस्ता व्यवस्था हुनुपर्ने बताइन्। ऊर्जाको क्षेत्रमा फड्को मार्ने सम्भावना देखेकाले अर्थतन्त्रले यसबाट लाभ पाउने किसिमको बजेट आउनुपर्ने बताइन्। कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रमा बजेट लगानी गर्नुपर्ने उनको जोड थियो।