जेठ ७,काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी डा प्रिती भुसाललाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले वैशाख २९ गते बिहान सगरमाथाको सफल आरोहण गर्नुभएकी उहाँलाई सम्मान गर्नुभएकोे हो । डा भुसाल सोही अस्पतालमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष कुँवर र कार्यकारी निर्देशक डा विनोद बिजुक्छेले नेपाली महिला चिकित्सकका तर्फबाट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी ग्राण्डी अस्पतालको समेत नाम राख्न सफल हुनुभएको भन्दै बधाई दिनुभयो । आरोही डा भुसालले कोभिड–१९ को लडाइँविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालकको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो ।

यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नाको विकल्प नरहेको सन्देश दिन र हिमालयन क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश दिन पनि आफूले सगरमाथाको आरोहण गरेको उहाँको भनाइ थियोे ।
हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथाको सफल आरोहण गर्नुभएकी डा भुसालले सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर लोपुचे हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक हुनुहुन्छ ।