जेठ ७,काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट–तुलसीपुर सडक खण्ड अहिले बन्द छ । टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरेका हुन्। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति निकालेर आज बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरिएको जनाएका हुन् । अत्यावश्यक गाडी एम्बुलेन्सबाहेक अन्य सबै गाडीलाई रोक लगाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक बन्द गरिएको हो ।

तुलसीपुर-४ हर्नेटीमा यही बिहीवार बेलुका टिपरकाे ठक्करबाट गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको थियो ।कपुरकोटबाट तुलसीपुर आउँदै गरेकाे रा १ प ३१७९ नम्बर मोटरसाइकललाई रा १ ख ११२३ नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियाे । 

मृतक सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनामा संलग्न व्यक्ति सम्पर्कमा नआउँदासम्म पोष्टमार्टम नगर्ने पीडित परिवारकाे अडान छ ।ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।