काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्।
शनिबार सम्पन्न १९ औँ साधारणसभामा कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन्।
उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भए। सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए।
अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ (दुई सय ८७), उद्धवप्रसाद भट्टराई (दुई सय ११), पवन केसी (दुई सय दुई), नम्रता खरेल (एक सय ८७), पुकार भट्टराई (एक सय ८२), खुश्बु खड्का (एक सय ७७), सरिता राधोपाध्याय (एक सय ४६), रोशन श्रेष्ठ (एक सय ३५) र समीर लामा (एक सय ३३) मत प्राप्त गरेर विजयी भए।







