संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य ठहरिँदैन ।

संविधानको पालना गर्ने हो भने तीन महिना पूरा गरेपछि मात्रै कानूनतः नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि नागरिक योग्य ठहरिने परिकल्पना संविधानले गरेको छ । केही समयअघि यसै सम्बन्धी घटना चर्चित भयो र अहिलेसम्म पनि छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउँछन् की पाउँदैनन् ? संविधानतः भन्ने हो भने उनी आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन् । तर कानूनमा छिद्र निकालेर उम्मेदवार बनाइए कानूनको धज्जी उड्ने संविधानविद्हरुको भनाइ छ । त्यसैले पनि संविधानमा छिद्र बनाउनु नहुने उनीहरुको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य नहुने व्यवस्था गरेको बताउनु भयो ।

रास्वपा सभापति लामिछानेले नागरिकता लिएको मितिले मनोनयन दर्ताको दिनसम्मको समय ६५ दिन मात्रै पुग्छ । उनलाई अझै उम्मेदवार बन्न योग्य ठहरिनका लागि २५ दिन अपुग हुन्छ । किनभने चैत्र २० गते उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ । उपनिर्वाचन आगामी वर्षको वैशाख १० गते हुँदैछ । जसमा रास्वपा सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्म्ेदवार बन्दै हुनुहुन्छ । निर्वाचनको दिनसम्मको हिसाव गर्ने हो भनेपनि वैशाख १० गतेसम्म उहाँले नागरिकता लिएको समय ८५ दिन मात्रै हुन्छ ।

सभापति लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिनुभएको थियो । संविधान र संविधानविद्हरुका अनुसार तीन महिना समय नपुगेकाले उहाँले उम्मेदवारी दिन पाउने अधिकार हुँदैन । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद गुमाएका थिए । नागरिकता पुनः प्राप्त गरेपछि पुनः उनी रास्वपा सभापतिमा कार्यरत छन् । 

संविधानविद् देवकोटाले रास्वपा सभापति लामिछालेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरिसकेको र झुटा विवरण पेस गरेर राहदानी लिएको भन्ने विषय अनुसन्धानको क्रममा रहेकाले छुट्टै अनुसन्धान हुने बताउनु भयो । उहाँले झुटा विवरण पेस गरी राहदानी लिएको विषय राज्यबिरुद्धको अपराध भएको पनि बताउनु भयो । उहाँले यसमा सरकार पक्षले यसबिरुद्धको मुद्दा चलाउने अधिकार भएपनि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भनेपनि झुटा विवरण पेस गरी राहदानी लिएको कुरा दण्डनीय हुने स्पष्ट पार्नुभयो । उहाँले आम नागरिकले झुटा विवरण पेस गरेर नागरिकता वा राहदानी लियो भने उसलाई क्षम्य हुन्छ त ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आम नागरिक दण्डित हुने र ठूला तहका मान्छेहरुले छुटकरा पाउने कुरा गरिए कानून र संविधानको मौलिक हकबिरुद्ध हुने उल्लेख गर्नुभयो । 

संविधानविद् देवकोटाले संविधान, कानून र मर्यादाको छिद्र खोजेर अघि बढ्नेकुरा चिरस्थायी हुन नसक्ने बताउनु भयो । उहाँले कानूनले कोर्स लिने बेला यस्ता नजिरहरुमा प्रश्न उठ्ने बताउनु भयो ।