काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् ।

यसैबीच, आइतबार आयोगले उम्मेदवारको मनोनयनपत्र दर्तामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।