काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गर्नुभएको छ । 

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताउनु भयो ।

उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनु भयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनु भयो ।