किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन बुधबार प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिनुभयो । लामो समयदेखि किमाथाङ्का नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले जानकारी दिनुभयो ।

भोटखोलावासीलाई सदरमुकाम खाँदबारी आइपुग्न चार/पाँच दिन पैदलयात्रा गर्नुपर्छ । प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथाङ्का नाका खोल्न पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

लामो समयदेखि सीमा नाका बन्द हुँदा दैनिकीमा असर परेको र भोकमरी फैलन सक्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष भोटेले बताउनुभयो । नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिनुभएको उहाँको भनाइ छ ।