काठमाडौं ।  प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ । 

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको हो ।

उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताउनु भयो ।

गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उहाँले यो सबैको कारण बेथिति भएको बताउनु भयो । 

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै उहाँले भरतपुरको बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलव खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको बिरोध गर्नुभयो । उहाँले संघयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताउनु यभो । कहीँपनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँले बताउनु भयो ।