काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहीन रहेको बताउनुभएको छ । 

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठन भएका सय दिन पुगेको अवसरमा गोरखापत्रमा २ पेज कामहरु सार्वजनिक गरेको तर त्यसमा कुनैपनि कुरा महत्वपूर्ण नपाएको बताउनु भयो । उहाँले सरकारका सय दिनका प्राथमिकतामा किसानहरुका समस्या, आर्थिक अवस्थाका समस्याहरु नपरेको बताउनु भयो । उहाँले सय दिनसम्म मन्त्रीपरिषद्समेत गठन गर्न नसक्ने सरकारसँग जनताले कुनै आश राख्न नसक्ने बताउनु भयो । उहाँले सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाउनु भयो । 

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गर्नुभयो । उहाँले एनसेललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताउनु भयो । उहाँले अर्बौं, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानून फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको बताउनु भयो । 

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राख्न लागिएकोप्रति आपत्ति जनाउनु भयो ।