काठमाडौं ।  नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताउनु भयो ।

उहाँले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सदस्य बनेकाहरुले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरुले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरुको बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताउनु भयो । 

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरुले ७० लाखसम्म पारिश्रमीक बढाएको भन्दै कलाकारसंघले न्युनतम पारिश्रमीक तोक्नुपर्ने माग गर्नुभयो । उहाँले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौति दिनुभयो । 

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताउनु भयो ।