चितवन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले आवेगमा नभई विवेकले प्रयोग गरेर मतदान गर्ने बताएका छन् ।

बुधवार चितवनको चुनावी सभामा बोल्दै नेता सिंहले कांग्रेसका जितनारायण श्रेष्ठको विजयी हुँदा लोकतन्त्रवादीको जित हुने बताए । ‘यो उप–चुनाव मात्रै होइन । प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवाल पनि छ ? त्यसैले गठबन्धनका साझा उम्मेदवारको जित भनेको लोकतन्त्रवादीहरू को जित हुने छ,’ उनले भने ।

चितवनवासीले यस पटक सधैँ सुख–दुःखमा सबैको घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्न उनले बताए ।

नेता सिंहले गठबन्धनको साझा उम्मेदवार श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार रहेको बताए ।

यस्तै नागरिकमा देखिएको निराशाका बीचमा आशा जगाउँदै जनजीवन सहज गराउन सरकार लाग्नुपर्ने सिंहको भनाइ छ ।

पहिलेका कुरा बिर्सिएर गठबन्धनका साझा उम्मेदवार पक्षमा मत माग्न घरघर पुग्न सबै नेता कार्यकर्तालाई नेता सिंहले आग्रह गरे ।