काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका अपेक्षा अनुसार काम हुन नसक्दा असन्तुष्टि बढेको बताएका छन्।
उनले जनअपेक्षा सम्बोधन हुने गरी सरकार र पार्टीहरूले पनि काम गर्नुपर्ने बताए।
‘जनताका चासो र अपेक्षा बेलैमा सम्बोधन गरेर जानुपर्छ। जनतामा असन्तुष्टि बढ्दो छ,’ कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको पूर्ण बैठकमा बोल्दै आज सिंहले भने, ‘कमजोरी सच्याएर अघि बढ्नुपर्छ।’
जनता असन्तुष्ट हुँदा उपनिर्वाचनमा कांग्रेसले नजिता हासिल गर्न नसकेको उनको भनाइ थियो। समयको मागअनुसार कांग्रेसको कार्यशैली परिमार्जन हुँदै जानुपर्ने पनि उनले बताए।
उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरताका साथ लिनुपर्ने पनि उनले बताए। उनले पार्टी संगठन निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताए।
यस्तै नेता सिंहले काँग्रेसले पुराना नेता कार्यकर्ताको उचित सम्मान र नयाँ पुस्तालाई साथ लिएर जान नसक्नु मुख्य कमजोरी भएकाले यसको उचित व्यवस्थापन गर्न तर्फ लाग्नु पर्ने समेत बताए ।







