काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताउनुभएको छ । 

शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलहरुका बीचमा आलोपालो हुने बताउनुभएको हो । उहाँले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताउनु भयो । उहाँले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरुका बीचमा बाँडफाँट हुने बताउनु भयो । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरुका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताउनु भयो । उहाँले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरुसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताउनु भयो । 

उहाँले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरु सँग विलय भने नहुने स्पष्ट पार्नुभयो । आफूहरु समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उहाँको भनाई छ ।